सोमबार, पुष ७, २०८२

नयाँ कमिटी घोषणा गर्दै माओवादी केन्द्रको महाधिवेशन आज सकिने

मेरोन्यूज २०७८ पुष १७ गते ८:००

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन शनिबार सकिने भएको छ ।

शनिबार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पुनः अध्यक्ष घोषणा गर्दै महाधिवेशन आज सकिने भएको हो ।

माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन ११ गतेदेखि काठमाडौँमा सुरु भएको थियो ।

पुुस ११ गते आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि उक्त प्रतिवेदन पनि पारित भइसकेको छ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार त्यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । बहुपदीय अवधारणाबाटै अगाडि बढेको माओवादीले आज नै नयाँ कमिटी घोषणा गर्ने जनाएको छ ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ । माओवादीले नेतृत्व सर्वसम्मत चयन गर्ने बताएको छ । आगामी स्थानीय, प्रदेश तथा केन्द्रको तीन वटै निर्वाचन सम्पन्न भएपछि विशेष महाधिवेशन गर्ने प्रचण्डले घोषणा गरेका छन् ।

प्रतिक्रिया