आइतबार, चैत २२, २०८२

चिसो काठमाडौं तात्तियो बसन्त चौधरीका कविताले

मेरोन्यूज २०७८ पुष २० गते २०:४६

काठमाडौं । पुस महिनाको मुटु कमाउने चिसो । घाम र बादलबीचको लुकामारी नियालिरहेको काठमाण्डौं । अरु जिउ तताउन घरि–घरि घुम्टो उघार्ने घाम पर्खिरहेका बेला कमलपोखरी छेउको मारवाडी सेवा सदनको हलमा भने अटीनअटी मानिसहरुको घूँइचो लाग्यो ।

Advertisement
nepal life insurencenepal life insurence

काव्यका अनेक रस स्वादनका लागि काव्यप्रेमीहरु त्यहाँ जम्मा भएका थिए । बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल तताउन कनिष्ठदेखि वरिष्ठ साहित्यकार, कवि, गीतकार, गजलकार तथा स्रष्टाहरुको जमघाट चलिरहेको थियो ।

सन्दर्भ थियो–चर्चित कवि तथा गीतकार बसन्त चौधरीका दुई कृति एकसाथ लोकार्पणको । उनको नेपाली भाषाको कविता संग्रह ‘तिमीविनाको म’ र अंग्रेजी भाषाको कविता संग्रह ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरियो ।

कुल ८५ वटा कविता समेटिएको ‘तिमीविनाको म’ र ८३ वटा रचना समेटिएका ‘अनेक पल औंर मैं’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कवि तुलसी दिवस, स्वयम् कवि बसन्त चौधरी, ‘तिमीविनाको म’को प्रकाशक मेघा चौधरी, प्रसिद्ध आख्यानकार तथा प्राध्यापक श्रीमती भूवन ढुंगाना तथा मुम्बई विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष प्रा.डा. करुणा शंकर उपाध्यायले संयुक्त रुपमा लोकार्पण गरे ।

लामो समयको अन्तरालमा काव्यको रसस्वादन गर्ने अवसर जुरेर होला, कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट देखिन्थ्यो । यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई आठवटा पुस्तकको रुपमा बाहिर ल्याइसकेका कवि बसन्त चौधरीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरे ।

कार्यक्रममा ‘तिमीविनाको म’को समीक्षा गर्दै वरिष्ठ आख्यानकार भूवन ढुंगानाले बसन्त चौधरीको काव्यिक यात्राको प्रशंसा गरे । उनले चौधरीमा समकालीन साहित्यकार तथा कविहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशी पाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने–‘खुशी प्राप्त गर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधना पनि रहेछ भन्ने कुरा बसन्त चौधरीबाट सिक्न सकिन्छ ।’

चौधरीको कविताहरुमा प्रेम, विरह, प्रकृति, मानवको सोंच, देशकाल र परिस्थितिप्रतिको चिन्ता लगायतका कुराहरु आफूले भेटेको समेत ढुंगानाले बताए ।

हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै प्रा.डा. करुणाशंकर उपाध्यायले एक शालीन र सरल व्यवहारका सशक्त कवि आफूहरुले पाएको दाबी गरे । ‘बसन्तका कविताहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले थपे–‘उहाँका कवितामा जीवनबोध र दायीत्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’

चौधरीले जीवनका अनेक पल र अनुभव आफ्ना कवितामार्फत व्यक्त गरेका र त्यो पढ्नेलाई समेत कवितासँगै आफू पनि आफ्नै जिन्दगीका पानाहरु पल्टाइरहेको आभास हुने डा. उपाध्यायले तर्क गरे । ‘पाठकको हृदयमा सोझै बस्ने कविता लेख्नुहुँदो रहेछ ।’ उनले भने–‘उहाँका कविता पढ्दा, पाठक आफैंले लेखिरहेजस्तो वा आफ्नै कथाव्यथा पढिरहेजस्तो ।’

भारतका महाकवि जयशंकर र कवि बसन्त चौधरीको व्यक्तित्वमा आफूले समानता देखेको उनको भनाई थियो । ‘महाकवि जयशंकर पनि बसन्त जस्तै आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेर पनि सिर्जना कर्ममा स्थापित हुनुहुन्थ्यो ।’ उनले भने–‘उसैगरी व्यस्त क्षणमा समेत आफ्नो संवेदनालाई राम्रो मौलिकतामा प्रस्तुत गर्नु बसन्तको सवल पक्ष हो ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली वाङ्मयमा बसन्त चौधरीले महत्वपूर्ण योगदान दिएका उल्लेख गरे । उनले चौधरी अब बरिष्ठ कविको रुपमा स्थापित भइसकेका उल्लेख गर्दै भने–‘जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषा दिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’

वरिष्ठ कवि तुलसी दिवसले बसन्त चौधरीका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे । ‘उहाँका सिर्जनाहरुमा उचाई, गहिराई र बिस्तारित रुप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट कविता बन्छ, बसन्त चौधरीको सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले थपे–‘बसन्त चौधरीजस्तै आफ्नो मौलिकता कायमै राखेर कविहरुले कविता कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’

‘तिमीविनाको म’ कविता संग्रहका प्रकाशक मेघा चौधरीलले बुबा भएर मात्र नभई मनैबाट अभिप्रेरित भई आफूले कविता संग्रह प्रकाशनको निर्णय लिएको बताए । ‘मैले मेरो बुबालाई व्यापार व्यवसायमा भन्दा साहित्य पढ्दा र कविता लेख्दा बढी खुशी देखेकी छु ।’ उहाँले थपे–‘बुबाको त्यही खुशी र आनन्दका लागि मैले प्रकाशक बन्ने निर्णय गरेकी हुँ ।’

कवि बसन्त चौधरीले दुवै कृतिबाट एक/एक कविता समेत वाचन गरेका थिए । आफ्ना कविता संग्रहप्रति व्यक्ति विचार तथा टिप्पणीबाट आफूलाई आगामी दिनमा थप सिर्जना गर्न छुट्टै उर्जा प्राप्त भएको समेत क्रममा उनले बताए ।

कार्यक्रममा हालै भारतमा सम्पन्न कालिङ्गा साहित्य महोत्वसमा बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’ उत्कृष्ट कविता संग्रहको रुपमा पुरस्कृत भएको समेत जानकारी गराइएको थियो । त्यसको प्रमाणपत्र र ट्रफी कवि चौधरीलाई हस्तान्तरण समेत गरिएको थियो ।

प्रतिक्रिया