सोमबार, चैत २, २०८२

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी चलाउने व्यवस्था मिलाइँदै

मेरोन्यूज २०७८ पुष २४ गते ७:३०

काठमाडौँ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ । अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनु पर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आफ्नो गाडी हुँदा हुँदै कम्पनीकै गाडी चलाउनु पर्ने नियमप्रति चौतर्फी विरोध भएपछि प्रदेश भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयले नियम संशोधन गर्न मिल्ने भए सच्याउने निर्देशन दिएको थियो । सिरहाको लहानलगायत अन्य ठाउँबाट ट्रायल दिँदा आफ्नै साधन प्रयोग गर्न दिने गरेको भए पनि उदयपुरमा ट्रायल सेन्टरकै सवारी साधन चलाउनु पर्ने बाध्यताले परीक्षार्थी अनुत्तिर्ण हुने गरेको भन्दै आफ्नै साधन प्रयोग गर्न दिने मन्त्रालयको निर्देशन थियो ।

मन्त्रालयको निर्देशनपछि आफ्नै साधन प्रयोग गर्न दिने विषयमा तयारी गर्न आन्तरिक छलफल भइरहेको छ । परीक्षार्थीको दबाब र मन्त्रालयको निर्देशनअनुसार गर्न सकिने नसकिने भन्ने विषयमा छलफल गर्दै आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख सुभाष कार्कीले बताए ।

उनका अनुसार ट्रायलमा प्रयोग हुने सवारी साधनको बिमा (इन्स्योरेन्स), ब्लुबुक अनिवार्य नवीकरण भएको हुनु पर्ने, सवारी साधनको अवस्था प्राविधिकले जाँच गरेर प्रमाणित गर्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।

निर्देशिकाले गरेको व्यवस्थाअनुसार गर्नु पर्ने भएकाले मन्त्रालयले निर्देशन दिए पनि तत्काल कार्यान्वयनमा आउन केही कानुनी समस्या रहेको कार्कीको भनाई छ । परीक्षार्थीको दबाब र प्रदेश सरकारको निर्णयअनुसार नीति परिवर्तन गरेर आफ्नै साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन गृहकार्य सुरु भएको उनको भनाई छ ।

प्रतिक्रिया