शनिबार, वैशाख २६, २०८३

जाजरकोटमा विप्लवका विद्यार्थीले वडाध्यक्षलाई कालोमोसो लगायो

मेरोन्यूज २०७८ माघ ५ गते २०:३९

जाजरकोट । जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमासोसहित जुत्ताको माला लगाएको छ ।

Advertisement
NiccNicc

नगरपालिकाको–६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो र जुत्ताको माला लगाइएको हो ।

यस्तै, अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा उनले ९ लाख हिनामिना गरेको आरोप लगाएको छ । यस्तै अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको आरोप उनीमाथि लागेको छ।

यस्तै बाहुन गाउँदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहानबाट ल्याइएको जेवा खानेपानीमा सात लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको बजेटबाट गुणस्तरीय काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारी जाजर कोटले कालोमोसो दलेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले घटनाको विषयमा अनुसन्धान थालिएको बताएका छन् । ‘पीडित पक्षबाट कुनै खालको जानकारी आएको छैन । यदि आयो भने हामी प्रक्रिया अघि बढाएर कालोमोसो दल्नेहरूलाई पक्राउ गरेर कारबाही गर्ने छौं,’ उनले भने ।

यता नेकपा एमालेले विज्ञप्ति जारी गर्दै कालोमोसो दल्नु गलत भएको भन्दै इमान्दार, कर्तव्य निष्ठ कार्यकर्तामाथि आक्रमण भएको भन्दै विरोध जनाएको छ । विद्यार्थीले लगाएको आरोप गलत भएको एमालेले जनाएको छ ।

सिंगो विद्यार्थी र जनताको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको बताउँदै अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले गलत कार्यविरुद्ध आफूहरू सधैँ आक्रामक हुने बताएका छन् ।

प्रतिक्रिया