आज सोनाम ल्होछार, सार्वजनिक विदा
काठमाडौं । आज सोनाम ल्होछार पर्व । सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ समूदायले यसलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । ता भन्नाले घोंडा अनि माङ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा साहसीहरुको समूदाय तामाङहरु को पर्व सोनाम ल्होछार पर्व भन्ने गरिएको छ ।
ल्होछार शब्द ल्हो अर्थात् वर्ष वा साल र छार वा सार अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हो ।
यो दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ ।
ल्होछार मनाउने समूदायमा ल्हो अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ ।
सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले हिजो मंगलवार नै विज्ञप्ति जारी गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।
प्रतिक्रिया