शनिबार, पुष १९, २०८२

संसद बैठक आज बस्दै, पाउला त एमसीसीले प्रवेश ?

मेरोन्यूज २०७८ फागुन ४ गते ६:२३

काठमाडौं । पटक पटक स्थगित हुँदै धकेलिँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकलाई निक्कै चासोका साथ हेरिएको छ आजको बैठकमा नेपालमा विवादित बनेको अमेरिकी सहयोग नियोग सम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।

मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए ।

तर सरकारमै रहेको नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले राष्टिय सहमति नभई एमसीसी अगाडी बढाउन नहुने बताईरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा हिजो बसेको माओवादी शीर्ष नेताहरुको अनौपचारिक बैठकले भने एमसीसी सदनमा लैजानका लागि संसदको अवरोध पहिले हटनुपर्ने र त्यसपछि राष्टिय सहमति बनाएर मात्रै लैजानुपर्ने विषयमा पार्टीले जोड गर्ने समझदारी बनाएको छ ।

संसद् बैठकअघि सभामुख सापकोटाले विहान साढे ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसही बैठकमा एमसीसी संसदमा लैजाने या के गर्ने भन्नेमा आज छलफल पहलिे हुने देखिएको छ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक अगाडी विहान १० वजे माओवादी केन्द्रले पनि आफनो संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया