एमसीसीको गोलचक्कर
ध्वनी मतले पास गर्ने देउवाको रणनीतिमा ओलीको साथ
एमसीसीमा समर्थन नगर्ने पार्टीका मन्त्री हटाउन देउवालाई सुझाव

काठमाडौँ । वर्तमान गठबन्धन सरकारले अमेरिकी सहयोग नियोक मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा ध्वनी मतका आधारमा बहुमतले पारित गर्ने रणनीति बनाएको छ । सम्झौता भएको ३२ महिनापछि आइतबार प्रतिनिधि सभामा पेस भएको एमसीसी ध्वनी मतले पारित गर्नेगरी रणनीति बनिरहेको निकटस्थ स्रोतहरू बताउँछन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीबारे आफू स्वयं र आफ्ना निकटस्थ मन्त्री र नेताहरूसहित सत्ता गठबन्धन र विपक्षी पार्टीका नेताहरूसँग वार्ता गरिरहेका छन् । विपक्षी एमालेसँग सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता डा. मीनेन्द्र रिजालले अनौपचारिक कुराकानी गरिरहेका छन् ।
उनीहरूले देउवालाई दिएको रिर्पोट अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा कुरा नमिलेर पारित हुने अवस्था नदेखिएमा संसद्मा निर्णयार्थ प्रस्तुत हुँदा ध्वनी मतमा साथ दिने आश्वासन दिएका छन् । ‘सकभर गठबन्धनमै कुरा मिलाएर पारित गर्नुस् । त्यसो हुन सकेन र बहुमत नपुग्ने अवस्था आयो भने ध्वनी मतमा बहुमत पुगाउन अनौपचारिक रूपमा एमालेले सहयोग गर्छ । निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा लाग्नुस्,’ ओलीले देउवालाई दिएको आश्वासनबारे सरकारका एक मन्त्रीले भने ।
त्यस्तै सत्ता गठबन्धन र सरकार निर्माणमा सहयोग गरेको तर सरकारमा नरहेका राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीलाई एमसीसीको पक्षमा ल्याउन देउवाले गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेस उपसभापति पूर्णबहादृुर खड्कासहितका नेतालाई खटाएका छन् । उनीहरूले सबै दलका शीर्षस्थसहित दोस्रो र तेस्रो तहका नेतासम्म कुराकानी गरिरहेका छन् ।
अनौपचारिक वार्तामा खटिएका एक नेताका अनुसार नेकपा (एकीकृत) समाजवादी पार्टीमा वरिष्ठ नेता झलनाथ खनालमात्रै विपक्षमा रहेको र अध्यक्ष माधवकुमार नेपालले कार्यकताको मनोबल बचाउनका लागि मात्रै विरोधमा बोलिएको बताइरहेका छन् । निर्णयार्थ पेस हुने बेलासम्म पक्षमै आउने वातावरण मिलाउने आश्वासन पनि आफूसँग कुराकानी गर्ने नेताहरूलाई नेता नेपालले दिएका छन् ।
यता नेकपा माओवादी केन्द्रमा भने एमसीसीलाई समर्थन गर्ने भन्ने विषय पार्टीभित्र अल्पमतमा पर्ने देखिएपछि विपक्षमा उभिने सम्भावना प्रवल बन्दै गरेको वार्तामा सम्लग्न नेताहरूले प्रधानमन्त्री देउवालाई रिपोर्ट गरेका छन् । बालुवाटार स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टी नेताहरूलाई ‘कन्भिन्स’ गर्न सक्नेमा आफू नै द्विविधामा रहेको बताएका छन् ।
त्यसपछि देउवाले दाहालसम्म एमसीसीलाई समर्थन गर्ने/नगर्ने आधिकारिक निर्णय गरेर जानकारी गराउन भन्ने खबर पठाएका छन् । माओवादीमा सरकार छोडेर निर्वाचनमा गएमा परिणाम अनपेक्षित आउने र सत्तामा रहन एमसीसीबारे एकमत नहुने देखिएकाले अध्यक्ष दाहाललाई एमसीसी ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने काञ्छा बाबुको अनुहार’ भएको छ ।
नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा र प्रमुख सचेतक देवप्रसाद गुरुङ बरु सरकार छोड्ने तर एमसीसीका पक्षमा मतदान गर्न नहुने धारणा राखिरहेका छन् । त्यसले अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पारेको छ ।
यता लोकतान्त्रिक समाजवादी पार्टी भने एमसीसीको पक्षमा रहेको र मतदान गर्न परे गर्ने आश्वासन वार्तामा रहेका नेताहरूलाई दिएको छ ।
एमसीसी पास गर्न खटिएका एक मन्त्रीका अनुसार एमसीसीमा समर्थन नगर्ने निर्णय गर्ने पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने सुझाव प्रधानमन्त्री देउवालाई पार्टीका नेताहरूले दिएका छन् । त्यसकै लागि पार्टीका आधिकारिक धारण के हो भनेर औपचारिक रूपमै माग्ने तयारीमा देउवा रहेका ती मन्त्रीले बताए ।
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया