भैरहवाबाट उडान गर्न पाँच वायुसेवा कम्पनी सम्पर्कमा
काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न पाँच कम्पनी सम्पर्कमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमान स्थलबाट चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान अवतरणको तयारी भएको बताइएको छ ।
उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन् ।
अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरण गर्न अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण केही हवाई कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।’
व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’समेत जारी गरिसकेको छ । उक्त विमान स्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरण गर्न अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
प्रतिक्रिया