मंगलबार, वैशाख २३, २०८२

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

मेरोन्यूज २०७८ चैत ९ गते १३:३७

उच्च शिक्षाका लागि विदेश जाने तथा वैदेशिक रोजगारप्रतिको आकर्षणले निजामती सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरी निजामती सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन्, त्यो पनि एकै ठाउँका । मङ्गला, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेनी नगरपालिका–६ अर्थुङ्गेका क्रमश ः मनोहर ढुङ्गाना, अमृत सुवेदी र पूर्णबहादुर खत्री रहेका छन ।

मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना २०७३, रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी २०७४ र धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत खत्री २०७८ मा निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका थिए । रेघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले २०६९ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । क्रमशः सुब्बा हुँदै अधिकृत पदमा पुगेका हुन् । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले २०६८ सालमा न्याय सेवातर्फ खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

उनले पनि सुब्बा हुँदै अधिकृतमा पुगे । धवलागिरिका खत्री २०७२ सालमा नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका थिए । तीनैजना अधिकृतले अर्थुङ्गेकै जामुनाखर्क माविबाट विद्यालय तहको पठनपाठन गरेका थिए । विद्यालयका पूर्वविद्यार्थीहरु गृहजिल्लाकै तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुग्नु गौरवको विषय भएको जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले बताए ।

“विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको उच्च पदस्थ स्थानमा पुग्नेक्रम बढेको छ, पूर्वविद्यार्थिहरु निजामती, शिक्षक सेवा र बैंकिङ्ग क्षेत्रमा ठूलै सङ्ख्यामा आबद्ध छन्, विद्यालयका लागि गौरव र अन्य विद्यार्थीहरुका लागि प्रेरणाका रुपमा लिएका छाैँ,” प्रअ ढुङ्गानाले भने ।

सोही विद्यालयमै अध्ययन गर्नुभएका नगेन्द्र सुवेदी (२०७५) थासाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन भने शान्ति पौडेल (२०७३) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत, यसोदा सुवेदी (२०७४) पर्वतको फलेवास नगरपालिकाको लेखा अधिकृत र रामप्रसाद पौडेल (२०७५) गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा शाखा अधिकृतमा कार्यरत छन ।

नवराज ढुङ्गाना र विजय पौडेल वाणिज्य बैंकको सातौँ अधिकृत छन भने यस विद्यालयमा अध्ययन गरेका १२ जनाभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा प्रबन्धकका रुपमा कार्यरत छन ।

छिमेकी जिल्ला बागलुङ र पर्वतको तुलनामा निजामती क्षेत्रमा म्याग्दीको कमजोर उपस्थिति भएपछि पछिल्लो समय जिल्लाका स्थानीय तहले समेत लोकसेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गर्न थालेका छन् । यसले केही हदसम्म लोकसेवाप्रति आकर्षण बढेको छ ।

प्रतिक्रिया