परिवर्तनका पर्याय कृष्ण

काठमाडौँ । एउटा व्यक्तिले चाहे सिंगो गाउँ नै कसरी कायापलट हुन्छ भन्ने उदाहरण हो, बाँकेको गाभर भ्याली । बाँकेको कोहलपुरबाट पश्चिमतर्फ सात किलोमिटरको दुरीमा छ, यो ठाउँ । जहाँ तपाई पुग्नु भयो एक दशकयता फेरिएको असली गाभर देख्नु हुनेछ ।
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने गाभर भ्याली रारा बस्तीका नामले पनि परिचित छ । सौन्दर्यताले भरिएको मुगुको रारामा नेपाल सरकारले राष्ट्रिय निकुञ्ज खडा गरेपछि त्यस क्षेत्रका बासिन्दालाई सीधै यता बसाईसराई ग¥यो । २०३५ सालपछि बसेको रारा बस्तीमा मुगुका बासिन्दाहरूको स्थायी बसोबास यतै भयो ।
पातलो र छरिएका बस्तीबीच थारु समुदायको पनि बस्ती छ । ०४० सालपछि अन्य जातजातिको पनि यहाँ बसोबास हुन थाल्यो । बाँके राष्ट्रिय निकुञ्जभित्रको यो भ्यालीमा कुनै बेला जंगल मात्रै थियो । त्यसबेला चहलपहल हुने कल्पना कसले गर्न सक्थ्यो र ?
०६८ सालपछि गाभर भ्यालीले विस्तारै रुप फेर्न थाल्यो । त्यसको जग बसाल्ने काम गरेका थिए, कृष्ण चौधरीले । यस क्षेत्रको कसरी प्रचार–प्रसार गर्न सकिन्छ भन्ने उनलाई लागिरहन्थ्यो । सञ्चारकर्ममा जोडिएका उनले समाचार लेखेर पनि यस क्षेत्रको प्रचार–प्रसार गरे । मिडियामा लेखेर मात्र कायापलट हुनेवाला थिएन ।

उनको परिवारले होमस्टे थाल्यो । माटाले बनेको आफ्नै घरको एउटा बेडबाट होमस्टे शुरु भयो । खासमा होमस्टे कसरी सञ्चालन गर्ने कुनै योजना नभई शुरु भएको थियो । अन्य पाँच घरमा पनि होमस्टे शुरु भयो । तर, जसरी हुन्छ, यसलाई सफल पार्नु थियो ।
सुदूरपश्चिम तथा तराई क्षेत्रकै पहिलो सामुदायिक होमस्टे कैलालीको भादामा कृष्णले होमस्टे सञ्चालनको तालिम लिएर फर्किए । त्यसपछि गाभर भ्यालीले नयाँ जग बसाउन थाल्यो । शुरुवातमा कल्पनै नगरिएको यस ठाउँले विस्तारै काँचुली फेर्न थाल्यो । अहिले १८ घर परिवारले होमस्टे सञ्चालन गर्न थालेका छन् ।
स्थानीय उत्पादनले यतै बजार पाउन थालेको छ । गाउँका युवाले रोजगारी पाएका छन् । विदेशको भिषा लागेका युवा रोजगारीमा लागेका छन् । जनताको आर्थिक स्तर उकालो लागेको छ । होमस्टे सञ्चालनमा आएयता सरकार तथा विभिन्न संघ, संस्थाले विकास लागि पहलकदमी चालेका छन् । त्यसको श्रेय उनै युवा कृष्ण चौधरीलाई जान्छ ।
गाभर भ्यालीमा होमस्टे सुरु गर्दा कसैले पत्याएका थिएनन् । कृष्ण र उनको परिवारले थालेको यो व्यवसाय सफल हुन्छ भन्नेमा कसैले विश्वासै गरेका थिएनन् । तर, सम्भव छ, गर्न सकिन्छ भन्ने कुरालाई कृष्णले आत्मसात गरे । सुरुवातदेखि उनलाई आँट, हौसला र साथ दिने व्यक्ति हुन्, तिलक ढकाल । हाल रैथाने एग्रिप्रोडक्ट्स नेपाल प्रा.लि.का अध्यक्ष ढकाल त्यसबेला विश्व वन्य जन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)मा काम गर्थे ।
१२ वर्षअगाडि नै गाभर आवतजावत गर्ने ढकालले हरहिसाबले कृष्णको अभियानलाई साथ दिए । ‘कृष्णको नेतृत्व नभएको भए अहिलेको गाभर यो रुपमा देखिने थिएन,’ ढकालले भने, ‘उहाँको मिहिनेत, चुनौतीसँग सामना गर्ने र अफ्ठ्यारासँग सामना गर्ने आँटकै कारण यो सम्भव भएको हो ।’

गाभर भ्याली अब पहिले जस्तो सुनसान छैन । हरेक दिनजसो स्वदेशी तथा विदेशी पर्यटकको बाक्लै चहलपहल देखिन्छ । एक घरबाट सुरु भएको होमस्टे अब १८ वटा घरमा फैलिइसकेको छ । नजिकै ठूलो आकर्षक पार्क छ । जहाँ पिकनिक आउने र घुम्न आउनेको संख्या बढ्दो छ । गाभर भ्यालीका होमस्टेमा पाहुँनाको घुइचो लागेकै हुन्छ । बस्न नभ्याउने दिनभर यहाँ घुमेर साँझ फर्किने गर्छन्् । गाभर भ्याली होमस्टेमा तपाईको मन भुलाउने अब थुप्रै विषयहरु थपिइसकेका छन् ।
कृष्णले जग हालेको गाभर भ्याली सामुदायिक होमस्टे यतिबेला नमुना बनिसकेको छ । यस होमस्टेभित्र पस्दा कुनै रिसोर्ट झझल्को दिन्छ । यहाँ निर्मित ससाना कटेज र मचानमा बसेर स्थानीय परिकारको स्वाद लिन सकिन्छ । ठूलो समुहमा पाहुना यहाँ पुग्दा थारु नाँच सखिया, हुर्दङ्वा प्रदर्शन गरेर मनोरञ्जन प्रदान गरिन्छ ।
गाभर भ्यालीमा अब जीन बैंक पनि
कृष्णले आफ्नो होमस्टेलाई यतिमै सिमित राखेका छैनन् । यस होमस्टेलाई किराको रिसोर्टका रुपमा लैजान चाहेका छन् । माहुरी बस्नका लागि यहाँ डिलक्स रुम, सुइट् रुम, भ्यु टावर, रेस्टुराँ बनाइएको छ । प्रकृतिका लागि आवश्यक पर्ने किराको संरक्षणमा पनि कृष्ण उत्तिकै लागिपरेका छन् ।
गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंकको स्थापना भइसकेको छ । कृष्णकै सामुदायिक होमस्टेभित्र रहेको यो जीन बैंक वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले फागुनमा उद्घाटन गरेका हुन् । यस जीन बैंकले कृषि आनुवंशिकका घाँस, बाली, पशुपंक्षी, जलीय, सुक्ष्म जिवाणु र किरा गरेर ६ वटा क्षेत्रलाई समेट्छ ।
लोप हुँदै गएका मौलिक चिजवस्तु, वन्यजन्तु, वनस्पति जोगाउनु एकदमै अपरिहार्य भएको रैथाने एग्री प्रोडक्ट प्रालिका अध्यक्ष तिलक ढकाल बताउँछन् । सिप, प्रविधि, ज्ञान, कृषि उपज, जलिय र थलिय उत्पादन नाँसिदै गएको बेला जीन बैंक खोलिनु अत्यन्तै सुखद रहेको उनी बताउँछन् ।

‘पर्यटन फस्टाउन हाम्रो वातावरण, वन्यजन्तु, भाषा, संस्कृति पहिले जोगाउनु पर्छ,’ संरक्षणविद् ढकालले भने, ‘पर्यटन फस्टाउन सके मात्र जनताको आर्थिक स्तरोन्नती गर्न सकिन्छ ।’
सञ्चालक कृष्ण चौधरी नेपालमै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन हुनु आफैमा सुखद विषय रहेको बताउँछन् । नेपालका विभिन्न ग्रामीण क्षेत्रमा जीन बैंक सुरु गर्ने चौधरी सुनाउँछन् । यस्तै जीन बैंकका अध्यक्ष पुर्मल बस्नेतले बैंकले रैथाने प्रजातिका किट् मात्र नभएर अन्य जीव जन्तु, वनस्पति संरक्षण गर्ने र उनीहरु सहज रुपमा बाँच्न वातावरण सिर्जना गर्ने बताए । अरु होमस्टे, गाउ, कार्यालय र समुमदायमा पनि जीन बैंक स्थापना गर्न लागि पर्ने उनले बताए ।
पारिस्थिकीय प्रणालि (इको सिस्टम) सन्तुलन राख्न, जैविक विविधता संरक्षणमा टेवा पुर्याउन, कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) खुमलटारको आयोजना तथा रैथाने एग्री प्रोडक्ट प्रालिको सहकार्यमा मुलुककै पहिलो सामुदायिक जीन बैंकको स्थापना सम्भव भएको हो ।
यो जीन बैंकको स्थापना भएपछि इको सिस्टम सन्तुलन राख्न त सहयोग पुग्ने नै छ । विद्यार्थीको भ्रमण र अनुसन्धानमा रूची राख्नेका लागि पनि उपयुक्त थलो बन्ने छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया