सोमबार, चैत ९, २०८२

नेपालका खेलकुद मन्त्री र रसियाका खेलकुद मन्त्रीबिच शिष्टाचार भेटवार्ता

मेरोन्यूज २०७९ असार १ गते १३:२१

काठमाडौं । रसियाको भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका खेलकुद मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका थिए ।


साथै उनले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री गहतराजको नीजि सचिवालयले जनाएको छ ।

मन्त्री गहतराजले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका थिए । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए ।

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता ब्यक्त गर्दै मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रीपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुनेमा विश्वास ब्यक्त गरे ।

आगामी दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री गहतराजले जोड दिएको उनको नीजि सचिवालयले जनाएको छ ।

भेटकै क्रममा मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारीक निमन्त्रणा समेत दिएका छन् । गहतराज नेतृत्वको टोली असार ३ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया