बिहीबार, फागुन २८, २०८२

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

मेरोन्यूज २०७९ असार २ गते ११:४७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०।७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा १४ असारसम्ममा आवेदन दिनुपर्नेछ ।

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २४ असारसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया