बिहीबार, वैशाख २४, २०८३

अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुँदैन : प्रधानसेनापति

मेरोन्यूज २०७९ असार ३ गते ११:५६

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा पुगेका प्रधानसेनापति शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगर्ने र नगरेको बताएका थिए ।

Advertisement
NiccNicc

त्यही क्रममा उनले आफनो असार १३ गतेबाट हुन लागेको अमेरिका भ्रमणमा पनि कुनै सम्झौता गर्ने कार्यक्रम नै नरहेको प्रष्टाएका हुन् ।

‘अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन,’ प्रधानसेनापति शर्माले भने,-‘अहिले सार्वजनिक भएको एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नता पनि छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।’

प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।

त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र साँचो भएको प्रधानसेनापति शर्माले प्रष्ट पारे । तर त्यो भूकम्पका बेला लेखिएको र त्यो सैन्य गठबन्धनका लागि नभएको पनि बताए ।

‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापतिले भने ।

प्रतिक्रिया