शुक्रबार, माघ २३, २०८२

बामदेवले फेरि दोहोर्‍याए – कम्युनिष्ट पार्टी एकीकृत गर्ने महाअभियान घोषणा गर्छु

मेरोन्यूज २०७९ असार ३ गते १३:११


काठमाडौं । नेकपा विभाजन पछि कुनै कम्युनिष्ट पार्टीमा नखुलेका नेता बामदेव गौतमले फेरि आफु कम्युनिष्ट पार्टी एकीकृत गर्ने अभियानमा लाग्न लागेको घोषणा गरेका छन् । राष्ट्रियसभाका सांसद समेत रहेका गौतमले आफू फेरी कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्न लागेको र त्यसको घोषणा केही दिनमै गर्ने बताएका हुन् ।

राष्ट्रियसभामा शुक्रवार धारणा राख्दै गौतमले केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको र फेरी कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने विचारमा रहेको बताएका हुन् ।

‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरु फेरी एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जिवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु–उहाँहरुसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए,’ गौतमले भने, –‘हामीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेका थियौं । नेपाललाई साँच्चकी एउटा समृद्ध समाजवादमा पु¥याउने, त्यसको निम्ति औजारको आवश्यक्ता पर्छ र त्यो औंजार राजनीतिक रुपले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)मात्रै हुन सक्थ्यो । र, अव त्यो हुन्छ भनेर हामीलाई ज्याँदै खुसी लागेको थियो । र, जनतालाई पनि त्यसले खुसी बनाएको थियो । तर दूर्भाग्यबस पार्टी भित्र उत्पन्न समस्याहरुले हाम्रो पार्टी विभाजित हुन थयो । आज त्यो पार्टी विभाजित भएर तीन वटा टुक्रामा पुगेको छ । र, म फेरी एकीकृत गर्ने, म फेरी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए ।

प्रतिक्रिया