आइतबार, वैशाख २०, २०८३

निर्मला पन्तको हत्या गर्ने ‘हत्यारा’को खोजी, ४ वर्ष संसदमा बहस

मेरोन्यूज २०७९ साउन १० गते १४:३३

काठमाडौँ । सांसदहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement
NiccNicc

१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुःखद् भएको बताए ।

तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरूको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरूको आरोप छ ।

‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीय ज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले संसद बैठकमा भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्‍यो ? सिन्को भाँचेको छैन, अपराधीलाई पत्ता लगाइ कारबाही गर्ने प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’

साथै सांसद गंगा चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् । ‘सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दै छु, निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ?,’ उनले भनिन्, ‘हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’

प्रतिक्रिया