शनिबार, माघ १०, २०८२

बलात्कार गरी प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

मेरोन्यूज २०७९ साउन १३ गते २०:०८

काठमाडौँ । लमजुङमा विवाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ ।

स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ ।

उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ । साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो ।

बोल्न नसक्ने र कान नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् । सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ ।

आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए । तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।

अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनासमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । लीलाको शवको जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् ।

प्रतिक्रिया