मनसुनी वर्षाः अहिलेसम्म कहाँ कति पानी पर्यो ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा ८५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।
विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा ८६८ दशमलव सात मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो ।
यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आंकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँद छ ।
हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म ८३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए । यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार ४६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आंकलन गरिएको बताए ।
प्रदेश १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।
नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताए ।
महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । आज काठमाडौँको अधिकतम ३० दशमलव पाँच र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।
वीरेन्द्रनगरमा १४ र पोखरामा १० मिलिमिटर वर्षा भएको छ । राजधानी काठमाडौँमा गए रातिदेखि वर्षा भएकाले छैन । बिहान मौसम खुले पनि अहिले उपत्यकाको आकाश आंशिक बदली रहेको छ ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रतिक्रिया