शुक्रबार, वैशाख २५, २०८३

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

मेरोन्यूज २०७९ साउन २८ गते १४:४३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिए । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ ।

गृहमन्त्री खाँणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिए । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जीपमा ६ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।

प्रतिक्रिया