सोमबार, माघ ५, २०८२

काठमाडौं महानगरको अर्काे कदम : कलंकीबाट खसी बजार हटाउन निर्देशन

आफैं वैकल्पिक ब्यवस्था गर्न आग्रह, १५ दिनभित्र हटाउन निर्देशन

मेरोन्यूज २०७९ भदौ २ गते ७:१६

काठमाडौं । फुटपाथका बजारमाथी आक्रामक बन्दै आईरहेको काठमाडौं महानगरपालिकाले फेरि अर्काे कदम उठाएको छ । काठमाडौंको कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको छ।

महानगरको वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले सार्वजनिक सूचना नै जारी गरेर निर्देशन दिएको छ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले बिहिबार सार्वजनिक सूचना जारी गरेर भनेको छ ।

स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए। अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ। व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ।

प्रतिक्रिया