बिहीबार, फागुन ७, २०८२

बागमती प्रदेशका स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने

मेरोन्यूज २०७९ भदौ १० गते २१:३४

काठमाडौँ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने आफ्नो प्रदेशका खेलाडीलाई मासिक छ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बागमती प्रदेश खेलकुद परिषदद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने नौ वटा खेलमा मात्र स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने बताएका हुन् ।

उनका अनुसार फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, भलिबल, ब्याडमिन्टन र पौडी खेलमा स्वर्ण जित्ने खेलाडीले मात्रै त्यो सुविधा पाउने छन् । राष्ट्रिय खेलकुदका सबै ३६ वटै खेलमा बागमती प्रदेश सहभागी हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि सबै खेलाडीलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने योजना रहेको आयोजकको भनाइ छ ।

बागमती प्रदेशले खेलाडी छनोट प्रतियोगिताको लागि पाँच करोड रकम विनियोजन भएको र त्यसमा ४९ लाख निकासा भइसकेको जनाएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेशबाट फुल कोटामा सात सय नौ जना खेलाडी सहभागी छन् ।

गण्डकी प्रदेशमा अयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २९ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया