आइतबार, फागुन १०, २०८२

कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न एमालेको माग

मेरोन्यूज २०७९ भदौ २२ गते १४:०२

काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाउन लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले भने उनलाई रिहा गर्न माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् ।

व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।


‘अपूर्व क्षितिजले कला प्रस्तुत गर्ने क्रममा, अलिकति हाँस्य प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्‍यो होला । कसै न कसैलाई मर्का पार्ने नै प्रस्तुती हुन्छ हाँस्यकलाकारमा,’ उनले भने, हामीले देखेका छौं, शीर्षनेताहरु प्रज्ञा भवन र सभागृहमा बसेर हाँस्य कलाकारहरुको आफूमाथिको कडा व्यंग्यहरु स्वीकार गरेका छन् । अनि यसबापत नै अपूर्व क्षितिज सिंहजस्तो कलाकारलाई १०औँ दिनदेखि थुनामा राख्ने काम सरकारले गरिरहेको छ । म उहाँलाई शीघ्र रिहाइको माग गर्छु । आफ्नो प्रस्तुती हटाइसकेको र माफीसमेत मागेका छन् । यसअवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस् ।’

१२ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नियन्त्रणमा लिएको छ । नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया