आइतबार, फागुन १०, २०८२

पाँच दिने भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

मेरोन्यूज २०७९ भदौ २३ गते १८:५४

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरूप सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

भ्रमणकै दौरान जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मङ्गलबार रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरे । उनले भारतबाट सहुलियत रूपमा आएको २२ करोड ३८ लाख बराबरको सैन्य सामग्रीसमेत हस्तानतरण गरेका थिए ।

उनको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया