बुधबार, चैत २५, २०८२

घरगोठ मासेर स्वास्थ्य चौकीलाई जग्गा

मेरोन्यूज २०७९ भदौ २९ गते १३:२९


गलकोट । “घाउ चहराएर आएका नागरिकले मेरो जग्गामा आएर मल्हम लगाउन पाउन, मलाइ यहाँभन्दा ठूलो सन्तुष्टि केही छैन, यो नै मेरा लागि ठूलो धर्म हो”, बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा मङ्गलबार जग्गा दाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो ।

Advertisement
nepal life insurencenepal life insurence

उहाँले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्य चौकीका नाममा दिनुभएको छ । आफ्नो जीवन अध्यापनमै बिताका पाण्डेयले ऊर्जाशिल समय त्यही स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मुल घरमा बिताए।

सोही जग्गामा हुर्केर छोराछोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराए पाण्डेले २०५४ सालमा अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँसराइँ गरे ।

“जुन जग्गामा आज स्वास्थ्य चौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ, मलाई आफ्नो घर गोठभन्दा स्वास्थ्य चौकी ठूलो हो”, जग्गा दाता पाण्डेले भने।

पाण्डेले नौ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्य चौकीलाई आवश्यक चार रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो । उनले स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने आश्वासन दिए ।

मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिलान्यास गरे । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाका तर्फबाट सम्मानसमेत गरेका थियो ।
एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० वैशाख १९ गतेभित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ ।

अहिले मुलपानी स्वास्थ्य चौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिँदा असहज भएकाले नयाँ भवनसँगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिए ।
नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडाअध्यक्ष मेघराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया