‘यसपालिको चुनावले ललितपुर-२ मा परिवर्तनको दियो बल्छ’

डा. दीपेश केसी ललितपुरको गोदावरी खोलाको किनारमा हुर्किए । गोदावरीमै पौडी खेल्दै बालापन कटाए । नदीसँग उनको विशेष प्रेम छ । किनकी हरेक नदीसँगै मानव सभ्यता गाँसिएको छ । मौलिकता गा“सिएको छ ।
उनै केसीले यसपाली ललितपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ललितपुर २ को मुहार फेर्न उनले मनैदेखि प्रण गरेका छन् । हालैको एक साँझ भेटिएका उनी यसपालिको चुनावमा जित्नेमा ढुक्क देखिए । ‘आफ्नो अर्जुनदृष्टि आइडियोलोजी हुनुपर्छ,’ उनले सुनाए ‘हाम्रो बागमतीलाई हेरेपछि सभ्यता कसरी नष्ट हुँदैछ थाहा हुन्छ ।’
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका डा.दीपेश केसी सभ्यता, संस्कृति धर्ममाथि प्रहार भएकोमा चिन्तित छन् । ‘कुनै पनि देश, समाज धर्मको जगमा उभिएको हुन्छ,’ उनले भने, ‘हाम्रो मौलिकता नै हाम्रो मेरुदण्ड हो ।’ स्थानिय क्षेत्रको मौलिक उत्पादन, सम्पदा, संस्कृति, जात्रा, पर्वहरुको जगेर्ना गर्नु पर्नेमा उनले जोड दिए । यी कुराबिना हाम्रो अस्तित्व मेटिनेमा उनले चिन्ता प्रकट गरे ।
सामाजिक समस्याका अध्ययनकर्ता तथा पत्रकार डा. केसीले ललितपुर क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । दैनिक १२, १३ घण्टा उनी खटिइरहेका छन् । हरेक उमेर समूहका व्यक्तिहरु भेट्दा सबैमा परिवर्तनको तीव्र भोक रहेको उनले पाए । पुराना राजनीतिक दलहरुप्रति वितृष्णा बढेको, जनताहरूले नयाँ नेतृत्व खोजेको जनआवाज प्रशस्त सुने ।
ललितपुर उत्पादन र अन्य धेरै कारणले प्रख्यात छ । सिद्धिपुर सुकुलका लागि, लुभु कपडा उद्योगका लागि, इमाडोल, टीकाथली, लामाटार तरकारीका लागि प्रख्यात छ । हामीले मौलिक चिज प्रयोग गर्नु पर्नेमा उनले जोड दिए । संसारका सम्वृद्ध देश आन्तरिक उत्पादन स्वदेशमै खपत हुनाले प्रगतिको बाटोमा लम्किएको उनले उदाहरण दिए । आफ्नो माटो, नदी नाला, हावापानी, रुख, विरुवा पत्थर नबुझी अब राजनीति गर्न नसकिने केसीको तर्क छ ।
यस कारण म राजनीतिमा
बहुदलपछिका ६ वटा चुनावमध्ये ४ वटामा डा. केसीले मतदान गरे । पटक-पटक जितेकाले पनि ललितपुर २ का लागि केही योगदान र परिवर्तन गरेनन् । यसअघिका राजनीतिक परिदृश्यप्रतिको वितृष्णा र आक्रोशले उनलाई राजनीतिमा होमिन बाध्य बनायो । ‘मलाई कसैले राजनीतिमा लाग्न भनेको होइन,’ उनले सुनाए, ‘मनुष्य भएपछि आफ्नो क्षेत्रमा सेवा गर्ने, नागरिकसँग भिजेर केही सेवा गर्ने इच्छाले राजनीतिमा लागेको हो ।’ आफ्नो टोल, क्षेत्रप्रति जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने बलियो अठोट छ उनमा ।
यस्ता छन्, चुनावी एजेन्डाहरू
एक पटक रुसका राष्ट्रपतिलाई सोधिएछ, ‘तपाईंको देशको सबैभन्दा ठूलो सम्पत्ति के हो ?’
उनले निर्धक्क जवाफ दिएछन्, ‘हाम्रो देशका १५ करोड नागरिक नै देशको ठूलो सम्पत्ति हुन् ।’ डा. केसीलाई यो कुराले निकै छोयो । नेपालमा पनि यस्तै खालको नेताको खाँचो भएको उनले बताए । उनले सामान्य तर दैनिक जनजीवनमा नागरिकहरुले भोग्नु परिरहेका समस्यालाई बढी ध्यान दिएको पाइयो ।
डा. केसीले युवा, बेरोजगारी, उत्पादन र पर्यटनलाई विशेष जोड दिएका छन् । पाटन क्षेत्रभित्रै सबैभन्दा बेरोजगार युवाहरु रहेको उनले पाए । यस क्षेत्रमा कसरी रोजगारीको अवसर सिर्जना गर्ने ? त्यो समस्या विकराल रुपमा खडा भएको छ ।
युवाहरुलाई विदेशमा लेखेटेर रेमिट्यान्स मात्र खाने चलनको अन्त्य हुनु पर्ने कुरामा उनी दृढ देखिए । त्यसबाहेक खानेपानीको समस्यालाई सम्बोधन गर्ने, बाटोमा भेटिन खाल्डाखुल्डी पुर्ने उनको लक्ष्य छ । ‘मेरो अजुर्नदृष्टि ललितपुर २ को दिगो विकास, मानव विकास हो,’ उनी भन्छन्, ‘मैले जित्दा देशव्यापी मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा ख्याती होस् ।’
आफूलाई जिताएर ललितपुरले त्यसको सुरुवात गर्नेमा उनी ढुक्क छन् । ललितपुरका घरेलु उद्योग, कृषिजन्य उत्पादन क्षेत्रका आवश्यकता र माग पूरा गर्ने विषयमा उनी प्रष्ट छन् ।
डा. केसीको बुझाइमा ललितपुर क्षेत्रमा परिश्रमी मानिस र कर्मजिबी मानिस बस्छन् । त्यसैले उनलाई अगाडि बढ्न सहज भयो । ‘म त्यही जन्मेँ, हुर्कें, बढेँ,’ उनी भन्छन्, ‘त्यहाँको समस्या मेरो समस्या हो । मेरो पुस्ता पनि भोली त्यही बस्छ ।’
उनलाई लाग्छ-हरेक क्षेत्रमा परिवर्तनका लागि एउटा पुस्ता तयार हुनु पर्छ । युवाका चाहनालाई सम्बोधन गर्न पुराना पुस्ताका नेताले अब सक्दैनन् । उनी भन्छन् ‘हाम्रो धर्म, संस्कृति, परम्परा, सभ्यता, संरक्षण गर्न हामी हरेक व्यक्तिको कर्तव्य हो ।’
निर्वाचन आयोगले तोकेको मापदण्डभित्र रहेर त्यो भन्दा कम खर्चमा चुनाव जित्ने सोचमा छन् उनी ।
दुई महिना ललितपुरको क्षेत्र नम्बर २ मा घरदैलो गर्दा साथीभाइलाई चियाभन्दा बढी केही नखुवाएको उनले स्वीकारे । देश भनेको एकाइ हो । समग्र विकासका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न उनले अपिल गरे । ललितपुरका युवाको चाहना, भावना आफूले बुझ्नेमा उनले आश्वस्त पारे । युवाहरुलाई समाज परिवर्तनको बाटोमा जागृत गराउने, आत्मविश्वास र आशा जगाउने काम गर्नु पर्नेमा उनी समर्पित छन् ।
धर्म र संस्कृतिप्रति समर्पित
डा. केसीले धर्म र संस्कृतिको महत्वबारे अत्यन्तै जोड दिए । जापान विकसित हुनुमा जापानीहरुले धर्म, संस्कृति र आफ्नो भाषालाई महत्व दिएको उदाहरण उनले पेश गरे । ‘संस्कृति हाम्रो जीवन हो । आत्मा हो ।’ उनी थप्छन्, ‘कुनै पनि मानिस नास्तिक हुन सक्दैन । हरेक मानिसको आफ्नै धर्म हुन्छ ।’ हिन्दु, बौद्ध, किरात जुन धर्म माने पनि धर्म, संस्कृति हामी एक-एक व्यक्तिले जगेर्ना गर्नु पर्नेमा जोड दिए ।
अध्ययन, अनुसन्धानमा रुची, यस्तो छ शैक्षिक पृष्ठभूमि
डा. केसी सामाजिक विषयमा अध्ययन, अनुसन्धान गर्न रुचाउँछन् । उनले पीएचडी गर्दा ‘नेपाल भारत सीमा अपराधमा युवाको संलग्नता’ विषयमा थेसिस गरेका थिए । उनका बिभिन्न पुस्तकहरु प्रकाशित छन् । नेपालमा संगठित अपराध, क्राइम एण्ड मनि इन् नेपाल, इन्डो नेपाल क्रस बोर्डर क्राइम, डकैत इन् काठमाडौँ भ्याली र तीन वटा उपन्यास खुन, नखरा र किशोर देह प्रकाशित छन् । विश्वका ६ वटा जर्नलमा उनका लेख प्रकाशित छन् ।
ललितपुरको वालकुञ्ज माध्यमिक विद्यालयबाट प्राथमिक शिक्षा पूरा गरेका केसीले सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमबाट एसएलसी उर्त्तीण गरे । पाटन क्याम्पसबाट आइएस्सी गरेका उनले गोदावरीको किटिनी कलेजबाट स्नातक गरे । पाटन क्याम्पसबाटै समाजशास्त्रमा स्नातकोत्तर गरेका केसीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल र विद्यावारिधी हासिल गरेका छन् ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया