शनिबार, चैत २८, २०८२

आज दसैंको आठौँ दिनः नेवार समुदाय कुछी भ्वय खाँंदै 

मेरोन्यूज २०७९ असोज १७ गते १४:२६


भक्तपुर, १७ असोज

Advertisement
nepal life insurencenepal life insurence

आज दसैंको आठौ दिन अर्थात महाअष्टमीको देशभरका नेवार समुदाय कुछी भ्वय (भोज) खाँंदैछन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज । यस अर्थमा कुछी भ्वयको अर्थ दुईमाने भोज हो ।  दुई माना चिउराका साथ भोजका अन्य परिकार यो भोजमा खाने चलन छ । 

नेवार समुदाय प्रत्येक वर्ष दसैको महाअष्टमीको दिन कुछी भ्वय खाएर महाअष्टमी मनाउने गर्दछन् । यो भोज थाल वा प्लेटमा नभई केराको पातमा राखेर खाने गरिन्छ । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने गर्दछन् । 

केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना) अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका स्थानीय बताउँछन् ।

तर, इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार खासमा कुलछी अथवा कुछीको अर्थ कुलभित्र मात्रै भन्ने अर्थ हो । समयको परिवर्तनसँंगै चाँंड मान्ने विधि र प्रक्रियामा आएको परिवर्तन भएको अनुसार अचेल कुलिँचा अर्थात् एक करुवा (दुई माना) चिउरा राखेर भोज खाने अर्थमा पनि अथ्र्याउने गरिएको उनी सुनाउँंछन् । महाअष्टमीको दिन दिउँंसो नुहाइधुवाई गरेर बेलुका कुलका सवै सदस्य एकै ठाउँं भेला भएर कुलछी भ्वय खाने उनी सुनाउँछन् । यो अप्रभंस भएर अअिले कुछी भ्वय हुन गएको उनको भनाइ छ । 
   
केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केरोको पात भ्वयमा प्रयोग हुने गरेको भनाई छ । यही कारण केहीदिन अगाडिदेखि नै यहाँं ठाउँंठाउँंमा केराको पातको व्यापार पनि मौलाउँंदो छ ।

यो भोज खाँंदा सपरिवार लहरै जेष्ठता अनुसार बसेर खाइन्छ । अरु जुनैबेलाको भोजमा आवश्यकता अनुसार चिउरा लिएर खाने गरे पनि यो भोजमा भने अनिच्छाए पनि दुईमाना नै नापेर चिउरा राखेर भोज खानुपर्ने चलन छ । यसकारण यसलाई कुछी भ्वय भनिन्छ ।   

प्रतिक्रिया