गोदावरीमा स्काउट तालिम शुरु
ललितपुर । ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा पहिलोपटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । यो ५१ औँ उड्व्याज र ४४ औं एडभान्स स्काउट तालिम हो ।
तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्यको टिमसहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका जिल्लाहरूका योग्यता पुगेका स्काउटहरूको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ ।
स्काउटरहरूको वृत्ति विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको तालिमका कोर्ष लिडर सत्य नारायण शाहीले जानकारी दिए ।
सोमबारबाट तालिम शुरु भए पनि औपचारिक उद्घाटन भोलि (मंगलबार) गोदावरी नगरपालिकाका नगर प्रमुख तथा गोदावरी नगरपालिकाको स्काउट संरक्षक गजेन्द्र महर्जनले गर्ने गोदावरी नगर स्काउटका संयोजक दिपक अर्यालले बताए । उनका अनुसार तालिमको समापन माघ ८ गते नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले गर्ने तयारी रहेको छ ।
ललितपुरमा हालसम्म पनि एडभान्स तथा उडव्याज तालिम हुन नसकेको अवस्थामा गोदावरी नगर स्काउटको आयोजन तथा बागमती प्रदेशको संयोजनमा पहिलोपटक हुनाले ललितपुर स्काउटको गौरव भएको तालिम कोर्ष डाइरेक्टर देवराज घिमिरेले बताए ।
तालिममा ३२ पुरुष र २० जना महिला स्काउटरको सहभागिता रहेको छ ।
प्रतिक्रिया