सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । साझ ५ः३० देखि बसेको बैठक अहिले पनि जारी छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा निर्णय गर्न बैठक बसिरहेको हो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच ओलीको निवास बालकोटमा लञ्चसहितको ५ घण्टा लामो सम्बादपछि साँझ सत्ता गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो ।
बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको २ घण्टा लामो छलफलपछि एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।
उक्त छलफलमा सत्ता गठबन्धन दलको बीचमा मन्त्रालय भागबन्डा लगाउनेदेखि अन्य शक्ति बाँडफाँडका बारेमा खाका बनेको र त्यही खाकाका आधारमा अहिले गठबन्धनको बैठक जारी रहेको नेताहरूको भनाइ छ ।
भोलि माघ ३ गते प्रधानमन्त्री प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिने १० वटा दलका शीर्ष नेताहरुको सर्वदलीय बैठकसमेत बोलाएको पूर्वसन्ध्यामा बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको हो ।
दलहरूका बीचमा सहमति बनेमा भोलि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक लगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने अन्तिम तयारीमा समेत प्रधानमन्त्री छन ।
अहिलेसम्म ८ सांसद बराबर १ वटा मन्त्रालय भागबन्डा लगाउने गरी सत्ता गठबन्धन दलमा छलफल चलेको छ । त्यसो हुँदा नेकपा एमालेलाई ८ मन्त्री र दुई राज्यमन्त्री दिने सम्भावना अधिक छ । एमालेका तर्फबाट हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तीन मन्त्रीले विभागीय मन्त्रीले जिम्मेवारी पाएका छैनन् ।
नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीबाहेक नै ४ मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना छ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै, रास्वपाले ३ मन्त्री पाउने देखिन्छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।
त्यसैगरी राप्रपाले उर्जासहित २ मन्त्रालय, जसपाले सहरी विकास र अर्को एक मन्त्रालय , जनमतले एक मन्त्रालय , नागरिक उन्मुक्तिले एक मन्त्रालय र लोसपालाई एक मन्त्रालय दिने गरी छलफल सत्ता गठबन्धनमा छ ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्री भए पनि उनले हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
प्रतिक्रिया