बाघलगायतका वन्यजन्तुका लागि सोलारजडित पानी पोखरी

बाँके । बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिए ।
‘बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ’, उनले भने । उनले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताए ।
‘सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्’, प्रमुख संरक्षण अधिकृत शाह भन्छन् । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ ।
कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिए । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदान समेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको संख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताए ।
निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उनी बताउँछन् ।
‘यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्नेछ’, शाहले भने । वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने बताइएको छ । निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।
उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । बाघको संख्या अहिले २५ रहेको छ । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ ।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको पाँचसय ५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया