नक्कली भुटानी शरणार्थी प्रकरण
रायमाझी र खाणको इन्कारी बयानले प्रहरी समस्यामा
बिहीबारसम्म प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएका राजनीतिक व्यक्तित्वले इन्कारी बयान दिएपछि प्रहरी समस्यामा परेको छ । यस प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले इन्कारी बयान दिएपछि प्रहरी समस्यामा परेको छ । प्रहरीले लगाएको आरोप पुष्टि हुनेगरि आरोपितले बयान नदिएपछि प्रतिवेदन कसरी बनाउने भन्नेमा प्रहरी अधिकारीहरूमा अन्योल बढेको एक प्रहरी अधिकृतले बताए ।
प्रहरीले सरकारी वकिलको उपस्थितिमा दुवै जनासँग बयान सकेको छ । रायमाझीको बयान सोमबार बेलुका नै सकिएको थियो । खाणको सोमबार र मंगलबार बयान लिइएको हो । दुवैजनाले इन्कारी बयान दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘रायमाझीले फटाफट दिएका प्रश्नका जवाफ र खाणले शब्द–शब्द ख्याल गरेर दिएका प्रश्नका जवाफ धेरैजसोमा थाहा छैन उल्लेख छ,’ बयानमा सहभागी प्रहरी अधिकृत भन्छन् । खाण र रायमाझीले छोटो–छोटो बोल्दै सबै आरोप अस्वीकार गरेका छन् । आफूहरूले जुटाएका र आरोपितलाई अन्य आरोपितले पोलेका विषय उल्लेख गरेर बयान लिँदा उनीहरूले अस्वीकार गरेपछि समस्या भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
सोमबार बयानका क्रममा मुख्य प्रश्नमा प्रवेश गरेलगत्तै स्वास्थ्यको कारण देखाएर खाणले बयान रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेर मंगलबार बयान दिएका हुन् ।
खाणले गृहमन्त्री हुँदा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत खाणको विपक्षमा बयान दिएका छन् ।
यस प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र बिहीबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारीमा आफूहरू रहेको प्ररहीले जनाएको छ ।
अनुसन्धान अन्तिम चरणमा पु¥याए पनि प्रहरीले यो प्रकरणमा प्रहरीले थप उच्चपदस्थमाथि बलिया प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानको हदम्याद सकिन लाग्दा प्रहरी दबाबमा परेको छ ।
१४ जना हिरासतमा रहेको मुद्दामा १३ जनाको बयान सकिएको छ । सोमबार प्रहरीमा उपस्थित भएका पूर्वसभासद् आङटावा शेर्पाको बयान बुधबार लिने तयारीमा प्रहरी छ । उनको बयान सकिएपछि बिहीबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले छिटो प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन हेरेर कुन–कुन मुद्दामा अभियोजन गर्ने तय गर्ने जानकारी दिए ।
प्रहरीले पक्राउ परेकालाई संगठित अपराध र ठगी मुद्दा चलाउने तयारी गरेको छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चल्नेछ । राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने कि नहुने अन्योल रहेको प्रहरी र सरकारी वकिल कार्यालयका अधिकारीहरू बताउँछन् ।
ठगी मुद्दामा सात वर्षसम्म र त्यसमा संगठित अपराध मुद्दा जोडिँदा थप ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान छ । जसअनुसार सबैलाई कम्तीमा साढे १० वर्ष कैद सजायको मागदाबी गर्ने प्रहरी तयारी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अनुसन्धान अन्तिम चरणमा पुगेकाले एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने जानकारी दिए ।
संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानका कारण १० जेठभित्र यससम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता हुनेछ ।










एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया