मंगलबार, पुष ८, २०८२

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

मेरोन्यूज २०८० जेठ ७ गते ६:२०


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मुलुकभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीकोसमेत सम्भावना रहेको छ।

राति पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहनु साथै कोशी र मधेश प्रदेशको तराईका स्थानहरुमा हावा–हुरीको सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया