‘अखण्ड भारत’ को नक्साबारे डोभाल र क्वात्रासँग प्रधानमन्त्री प्रचण्डको गम्भीर चासो
प्रधानमन्त्रीले भने- हाम्रोमा पनि ग्रेटर नेपालको नक्सा छ, के हामीले बनाउँदै गरेको संसद् भवनमा ग्रेटर नेपालको नक्सा राख्ने ?
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नवनिर्मित संसद् भवनमा भारतीय पक्षले राखेको अखण्ड भारतको नक्साबारे गम्भीर चासो ब्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई देशवीच विगतमा विग्रेको सम्वनधमा क्रमशः विश्वासको वातावरण बन्दै गईरहेको बेला फेरि भारतीय पक्षले अखण्ड भारतको नक्सा भन्दै नवनिर्मित संसद् भवनमा नक्सा राखेकोमा चासो राखेका हुन् ।
उनले नेपालमा पनि ग्रटेर नेपालको नक्सा रहेको र नेपालले समेत नयाँ संसद भवन बनाईरहेकोले त्यहाा ग्रेटर नेपालको नक्सा राख्ने भन्दै भारतीय संसद भवनमा राखेको नक्साबारे असहमति जनाएका हुन् ।
‘दुई देशबीच विश्वासको वातावरण बनिरहेको बेला तपाईंहरूले यो सब किन गर्नुपरेको ? हाम्रोतिर पनि मान्छेहरू ग्रेटर नेपाल भनेर नक्सा छाप्छन्, के हामीले बनाउँदै गरेको संसद् भवनमा ग्रेटर नेपालको नक्सा राख्ने ?,’ प्रधानमन्त्री प्रचण्डले डोभाल र क्वात्रासँगको भेटमा ब्यक्त गरेको भनाई उद्धृत गदैं नेपालको प्रतिनिधिमण्डलका एक सदस्यले मेरोन्यूजसँग भने ।
जवाफमा डोभाल र क्वात्राले भने यसलाई राजनीतिक अर्थमा नबुझिदिन नेपालका प्रधानमन्त्री प्रचण्डसाग आग्रह गरेका थिए । ‘अखण्ड भारत’ सांस्कृतिक भावना भएकाले यसलाई राजनीतिक अर्थमा नलिन र नबुझिदिन हामी आग्रह गर्न चाहान्छौं,’ भारतीय अधिकारीहरुको प्रचण्डसँग आग्रह थियो ।
नेपालले भारतीय पक्षसँग प्रचण्डको भारत भ्रमणका क्रममा भारतसँग विद्युत् व्यापारका लागि २५ वर्षको सम्झौता, कम्तीमा महेन्द्रनगरबाट आऊजाऊ गर्न मिल्ने हवाई रुट थप र महाकालीको पानी बाँडफाँटसहित पञ्चेश्वर परियोजनाको टुंगो लगाउने विषयमा छलफल गर्न चाहेको छ । तर डोभाल र क्वात्रासँग प्रधानमन्त्रीको भेटमा यी विषयमा कुरा गर्न भारतीय पक्षले अनिच्छा देखाएको पनि नेपालका प्रतिनिधिमण्डल स्रोतले जानकारी दिएको छ ।
नेपालले उच्च प्राथमिकतामा राखेका विषयलाई भारतले तत्काल टार्ने संकेत दिएपछि नेपालले पनि भारतीय रणनीतिलाई पर्ख र हेरको नीति अनुसार प्रधानमन्त्रीको भ्रमणलाई सद्भावना भ्रमणमा मात्र सिमित गर्ने तयारी गरेको छ ।
यधपी, आज हुने भारतीय समकक्षीसँगको भेटमा पनि डोभाल र क्वात्रासँग भएको छलफल जस्तै कुनै नयाँपन नदेखिए प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमणमै सीमित हुने सम्भावना देखिएको छ ।
प्रतिक्रिया