गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट
काठमाडौं । गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन्।
अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन् ।
गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन्। गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
यो विधेयक पास भएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन्।
सभापति विष्टले विधेयक प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको साथै विदेशमा बस्ने नेपालीको हक, अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको बताएका छन्।
नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको विष्टले उल्लेख गरेका छन्।
यसैगरी यस विधेयकका पक्षमा उभिने सबै राजनीतिक दलका नेता र प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका माननीयप्रति पनि विष्टले आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया