मंगलबार, मंसिर २५, २०८१

भाडामा बसेको दुई दिनमै जुस खुवाएर भारतीयले गरे लुटपाट

मेरोन्यूज २०८० जेठ १८ गते १७:२४

कञ्चनपुर । जिल्लामा कोठा भाडामा बस्न आएका दुई जना भारतीय नागरिक चोरी गरेर फरार भएका छन् । भीमदत्त नगरपालिका ४ गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् ।

Advertisement

दुई दिनअगाडि प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरूले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुधबार राति घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएर बेहोस बनाइ लुटपाट गरेको प्रहरीले बताइएको छ ।

जुस खाएर बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबै जनालाई होस आइसकेको र चार हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

चोरीको पूर्ण विवरण आउन बाँकी भएको प्रहरीले बताएको छ । प्वाली परिवारलाई भाडामा बस्न आएका भारतीयको नाम ठेगाना केही थाहा छैन । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया