सोमबार, मंसिर १७, २०८१

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

मेरोन्यूज २०८० जेठ १८ गते १९:५२

काठमाडौँ । इरानले यस वर्ष तीन सयभन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो संख्यामा उल्लेख्य वृद्धि भएपछि यो वर्ष मृत्युदण्डको सजाय पाउनेको संख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ ।

Advertisement

नर्वेस्थित इरान मानवअधिकार ९आईएचआर० का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो ।

मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो ।

गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन् ।

विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसंख्याकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको संख्या बढेको बताएका छन् ।

आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दामले भने, “इस्लामिक गणतन्त्रले स्वेच्छाचारीरूपमा मृत्युदण्ड दिनुको उद्देश्य विरोध प्रदर्शन रोक्न र यसको शासन लम्ब्याउन सामाजिक डर फैलाउनु हो ।”

यस वर्ष फाँसी दिइएकामध्ये ५९ प्रतिशत अर्थात् १८० जनालाई लागू औषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको बताइएको छ । मे महिनामा मृत्युदण्ड दिइएकामध्ये २० प्रतिशतभन्दा बढी अर्थात् ३० जना देशको दक्षिणपूर्वमा बसोबास गर्ने सुन्नी बलुच अल्पसङ्ख्यक समुदायका थिए ।

महिलाका लागि इरानको पहिरन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन पछिल्ला महिनामा केही हदसम्म कम भएको छ तर अझै पनि छिटपुट रूपमा जारी छ ।

इरानले गत मे महिनाको सुरुमा प्रदर्शनसँग सम्बन्धित मुद्दामा थप तीन जनालाई फाँसी दिएको थियो । यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो ।

प्रतिक्रिया