मंगलबार, मंसिर २५, २०८१

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत देखिएको आईएमएफको भनाइ

मेरोन्यूज २०८० जेठ १९ गते १८:१०

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलंकाको अर्थतन्त्रमा सुधारको सम्भावित संकेत देखिएको उल्लेख गरेको छ ।

Advertisement

आईएमएफका उपप्रबन्ध निर्देशक केञ्जी ओकामुराले श्रीलंकाको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलंकाका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।’

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलंकाको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।

उनले वर्तमान आर्थिक संकटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए । भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपाय, विशेष गरी राजस्व संकलनका उपायको महत्वबारे अधिकारीसँग छलफल गरेका थिए ।

‘समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ, ऋणदातासँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनः स्थापना गर्न र पुनर्संरचना सम्झौतामा पुग्न मद्दत गर्नेछ,’ उनले भने ।

ओकामुराले भने, ‘श्रीलंका आर्थिक संकटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकालाई संरक्षण गर्नु अत्यावश्यक छ ।’

यसै वर्षको मार्चमा आईएमएफले श्रीलंकाको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया