सोमबार, मंसिर १७, २०८१

प्रधानमन्त्रीले जनतालाई राजकीय भ्रमण भनेर ढाँटे, गुमराहमा राखे : महासचिव पोखरेल

मेरोन्यूज २०८० जेठ २१ गते १०:२०

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई आफ्नो भारत भ्रमण राजकीय हो भनेर ढाँटेको, गुमराहमा पारेको बताएका छन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस् लेख्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले औपचारिक भ्रमणलाई पारिवारीक नीजि भ्रमणजस्तो बनाउने काम गरेको बताए । । सुरक्षा सल्लाहकारसंगको भेटमा भारतिय विदेश सचिव उपस्थित भएको देखिँदा प्रधानमन्त्री भने परराष्ट्रका अधिकारी विना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी उनको भनाइ छ ।

यी विषय आजबाट सुरु हुने संसद् बैठकमा सांसदहरूले उठाउने पर्ने भन्दै महासचिव पोखरेलले आफ्नो स्ट्याटस् लामै सूची राखेका छन् ।

यस्तो छ पोखरेलको स्ट्याटस्

प्रधानमन्त्रीको भारत भ्रमणका कारणले स्थगित भएको संसदको वैठक आजवाट सुरुहुदैछ । वैठकमा जनता र राष्ट्रको सरोकारका यी विषयमा माननीयज्यूहरुको ध्यान गम्भीरतापूर्वक जानेनै छः

१) संसदको विशेषाधिकार हननको विषयः प्रधानमन्त्री भारत भ्रमणमा जादैगर्दा हदम्याद गुज्रिएर निष्कृय वनेको विधेयक मन्त्रीपरिषदको निर्णयका आधारमा राष्ट्रपतिवाट प्रमाणिकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उलंघनको विषय हो । विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसदको हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशवाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा वढि भइसकेको अवस्थामा निष्कृय र विवादास्पद विधेयक अनुचित तरिकावाट प्रमाणीकरण गरिनु खेदजनक छ । प्रमाणीकरण भएको विधेयक सम्विधानको भावना विपरित छ । वैवाहिक अंगिकृतका सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तिमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरित विधेयक आएको छ । नेपाली चेलीहरु विहेगरेर भारत जादा भारतिय नागरिकताको अधिकार पाउन ७ वर्ष लाग्ने र नेपालमा विवाहसंगै नागरिकता पाउने व्यवस्था राष्ट्रको हित विरुद्धमा छ । त्यसमाथि यो विधेयकलाई भारत भ्रमणसंग जोडिनुले पनि यसको अन्तर्यलाई सहजै वुझ्न सकिन्छ। यस्ता विषयमा संसदको ध्यान गम्भीर रुपमा जानु र संसदको विशेषाधिकारको रक्षा गरिनु आवश्यक छ ।

२) नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा वंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात हो । वंगलादेश जानेवाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसंग जोडिनु गम्भीर राष्ट्रघाती सोच हो । यसप्रति सिंगो संसद र माननीयज्यूहरुको ध्यान गम्भीर रुपमा जानु पर्दछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीवाट यस अतिरिक्त निम्नानुसारका गम्भीर कमजोरी समेत भएका छन्ः

क) औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर जनतालाई गुमराहमा राख्ने र ढाट्ने काम ।

ख) औपचारिक भ्रमणलाई पारिवारी नीजि भ्रमणजस्तो बनाउने काम । सुरक्षा सल्लाहकारसंगको भेटमा भारतिय विदेश सचिव उपस्थित भएको देखिदा प्रधानमन्त्री भने परराष्ट्रका अधिकारी विना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी हो ।

ग) भ्रमणका क्रममा मन्त्रीज्यूहरुको तुलनामा प्रधानमन्त्रीले आफ्नी छोरीलाई ९जो प्रधानमन्त्रीको स्वकिय सचिव समेत हुन् । उच्च मर्यादाक्रममा राख्नु कुटनीतिक दृष्टिले गम्भीर त्रुटी हो ।

घ) भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रीत गर्न पूर्णतः असफल रह्यो । जस्तोः सिमा समस्याको समाधान, भारतिय वाधका कारणले वर्खामा हुने गरेको तराई क्षेत्रको डुवानको समस्याको समाधान,पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररुटको प्राप्ति र नेपाल भारत असमान सन्धी संझौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन । यस्ता विषयलाई अदृष्य भयका कारण प्रधानमन्त्री स्वयमले उपेक्षा गरेको देखियो ।

ङ) प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतिय चासोको आँखा चिम्लेर सम्वोधन गर्ने काम भयो । नेपालको सरोकारका मुख्य विषयहरुले ठाउ पाउन सकेनन् । तर पनि प्रधानमन्त्री भारतिय प्रधानमन्त्रीको सान्त्वना भाषणको प्रसंशा गरेर भ्रमणको औचित्य पुष्टिगर्न खोजिरहनु भएको छ ।

च) जनप्रतिनिधिज्यूहरुले कुटिलताले भरिएको भाषणमा होइन तथ्यमा प्रवेश गरेर प्रधानमन्त्रीसंग सवाल जवाफ गर्नुपर्दछ । भारतभ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरुवाट भएको कुटनीतिक मर्यादाको गम्भीर उलंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नु पर्दछ । ताकी भविष्यमा कुनैपनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शीर निहुराउने काम नगरोस् ।

प्रतिक्रिया