गलकोटका किसानलाई रोपाइँको चटारो

बागलुङ । बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए। “खोलाको पानी चिसो हुने ठाउँमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, केही फाँटमा भने जेठको अन्तिम सातादेखि रोपाइँ हुन्छ”, भण्डारीले भन्नुभयो, “गलकोटमा औसत रोपाइँ जेठमै हुन्छ ।”
कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताए । गलकोटमा भइरहेको रोपाइँ धेरै छिटो र बीउ कलिलो भएकाले उत्पादनमा क्षति हुने उनको धारणा छ ।
“यस वर्ष वर्षा पनि भइरहेकाले रोपाइँलाई सबैतिर सहज हुनेगरी बीउ तयार भएको छ”, उनले भने, “असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिसक्छ ।” यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाको पानीले यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो ।
नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ । कृषि ज्ञान केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क निकाल्ने गरिएको छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ ।
“यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भने, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ, जिल्लाभर धानखेती हुने जमिनको तथ्याङ्कमा पनि घटबढ भइरहेको पाइन्छ, यसलाई हामी अध्यावधिक गर्ने चरणमा छौँ ।”
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया