मंगलबार, मंसिर २५, २०८१

माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

मेरोन्यूज २०८० जेठ २३ गते ८:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दल बैठकबाट सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्ने माओवादी नेताहरूले बताएका छन् । दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

Advertisement

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको माओवादीले आज सरकार र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन लागेको हो ।

माओवादीले केन्द्रबाट कोशीमा सरकार छाड्न र समर्थन फिर्ता लिन कोशी संसदी दललाई निर्देशन दिएपछि मंगलबार निर्णय गर्न लागेको हो ।

एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् । माओवादीले सरकार छोड्ने निर्णय गरेमा मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई सुझाव दिँदै आएका थिए । कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र नै पठाएको थियो ।

प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ ।

९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राप्रपाका ६ जनाको समर्थन कायम छ ।

विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।

प्रतिक्रिया