४ महिना मात्र पुग्ने मौज्दात भए पनि सुरु भएन राहदानी खरिद प्रक्रिया
राहदानी खरिद प्रक्रिया अघि बढाउन प्राविधिक समिति र वार्ता समितिको प्रतिवेदन बुझ्न परराष्ट्रमन्त्री साउद र सचिव पौड्याल पञ्छिरहेका छन्

काठमाडौँ । ४ महिनालाई पुग्ने मात्रै मौज्दात भए पनि सरकारले राहदानी खरिद प्रक्रिया अगाडि बढाएको छैन । राहदानी विभागमा अहिले करिब ५ लाख प्रति मात्र राहदानी छ । विभाग, सबै जिल्ला, इलाका र विदेशस्थित नियोगबाट गरी मासिक करिब सवा लाख राहदानी वितरण हुने भएकाले ती प्रति राहदानीले करिब ४ महिनालाई मात्रै पुग्छ ।
खरिद ऐनअनुसार खुला प्रतिस्पर्धामा गएर राहदानी ल्याउन सरकारलाई कम्तीमा तीन महिना लाग्छ । तर, प्रक्रिया सुरु गर्ने ध्यान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले एकले अर्कालाई दोष दिएर पञ्छिरहेका छन् ।
राहदानी खरिद ऐनमा टेकेर दुई विकल्पअनुसार खरिद सकिन्छ । भेरिएसन र जीटूजी (सरकार–सरकार) बीचको सहमतिका आधारमा खरिद गर्न सकिन्छ ।
भेरिएसन गर्दा पहिले खरिद गरेको २० लाखमा १५ देखि २० प्रतिशत राहदानी तुरुन्त ल्याउन सकिन्छ । तर, जीटूजी गर्दा भने दुई तरिकाबाट काम हुन्छ । पहिलो, स्थानीय एजेन्टको सहयोगमा र सिधै दुई मुलुकका सरकारबीच सम्झौता गरेर ।
मन्त्रालयले राहदानी खरिद प्रक्रिया अघि बढाउन प्राविधिक समिति र वार्ता समिति बनाएको थियो । दुवै समितिका संयोजक राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवलाई बनाइएको थियो । वार्ता समितिले २०७९ भदौ २६ मै भेरिएसनमार्फत तीन लाख राहदानी ल्याउन मन्त्रालयलाई सिफारिस गरेको थियो । तर परराष्ट्र सचिव भरतराज पौड्यालले आफू प्राविधिक सचिव नभएको भन्दै वार्ता समितिको रिपोर्ट बुझेका छैनन् ।
मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएकाले मन्त्रीले नै रिपोर्ट बुझ्नुपर्ने सचिव पौड्यालले बताइरहेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले रिपोर्ट बुझ्न चासो दिएका छैनन् ।
मन्त्री र सचिवले रिपोर्ट नबुझ्ला राहदानी खरिद प्रक्रिया लम्बिँदै गएको छ ।
राहदानी विभागका महानिर्देशक यादवले भने जनतालाई राहदानी अभाव नहोस् भनेर तत्कालका लागि थप खरिद ठेक्काको गृहकार्य भइरहेको बताए ।
सरकारले २०७८ मंसिर १५ देखि ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको हो । परराष्ट्रले पहिलो चरणमा २० लाख विद्युतीय राहदानी खरिद गरेको थियो ।
यसअघि राहदानी विभागले २०६७ पुस ११ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो ।
मौज्दात राहदानी थोरै भएकाले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ६४ पृष्ठको राहदानीलाई ३४ पृष्ठकै राहदानीको मूल्यमा दिने निर्णय गरेको छ । ६४ पृष्ठको राहदानी जिल्लामा ५ हजार र विभागमा छिटो लिन आए १२ हजारमै पाइनेछ ।
राहदानी विभागमा यसअघि ६४ पृष्ठकोलाई २० हजार पर्थ्यो । यसले सरकारलाई राजस्वमा घाटा लाग्ने देखिन्छ । सरकारले ६४ पृष्ठको राहदानी ४ लाख छापेको थियो, जसमा ५ हजार मात्र वितरण भएको छ । ३४ पृष्ठको भने अहिले करिब एक लाख मात्र बाँकी छ ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया