सोमबार, मंसिर १५, २०८२

विश्वकप छनोटमा खर्चिलो बन्दै ‘सन्दीप’

मेरोन्यूज २०८० असार ५ गते १६:३०

काठमाडौँ । बलिङमा विश्व कीर्तिमान बनाएका बलर सन्दीप लामिछाने जारी विश्वकप छनोटमा खर्चिलो बन्न पुगेका छन् । विश्वकप छनोट खेलमा उनी लगातार दुई खेल विकेटविहीन बन्दै खर्चिलो बनेका हुन् ।

सन्दीपले सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

उनले ४२ खेलमा सय विकेट लिँदै यो कीर्तिमानमा आफ्नो नाममा लेखाएका हुन् । तर, विश्वकप छनोट दुई खेलमा उनी विकेटविहीन बनेका हुन् ।

अमेरिकाविरुद्ध जारी खेलमा सन्दीपले १० ओभरमा ५८ रन खर्चिए । उनीपछि सबैभन्दा धेरै रन गुल्सन झाले खर्चिएका छन् । तर, झाले तीन विकेट हात पारेका छन् ।

यसअघि जिम्बाब्वेविरुद्ध उनले ७७ रन खर्चिएका थिए । जिम्बाब्वेविरुद्ध पनि उनी नै सबैभन्दा खर्चिलो बलर बने ।

जिम्बाब्वेविरुद्धको खेलमा बलर नचल्दा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले २ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रतिक्रिया