उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिनेगरी सुधार ल्याउन जरुरी रहेकाले त्यसका लागि सरकारले आवश्यक तयारी थालिसकेको बताएका छन् । त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकमा प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क–सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ ।
मन्त्रालयले कार्यालय समयमा सहज रुपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा बस चलाएर परीक्षण गर्नसमेत सम्वद्ध अधिकारीलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यकपर्ने ट्राफिक संकेत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गरे ।
प्रधानमन्त्री दाहालले सडक संकेतको उचित प्रबन्ध गर्न पनि आग्रह गर्दै आवश्यक तयारी गरेर उपत्यकावासीलाई प्रत्यक्ष रुपमा राहत दिन जरुरी रहेको बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिए । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेशन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायाताको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेशन निर्माणको प्रबन्ध गर्नेगरी सहजीकरण गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री दाहालले उपत्यकामा अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । उनले त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि आवश्यक व्यवस्था गरिहाल्न भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयलाई निर्देशन दिए ।
विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी हुँदै गएकाले अत्यावश्यक स्थानमा तत्काल चार्जिङ स्टेशनको प्रबन्ध गरिहाल्नसमेत प्रधानमन्त्री दाहालले जोड दिए । नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनमध्ये एकाध बाहेक धेरै चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले काठमाडौँ उपत्यकाको सार्वजनकि यातायात सुधारका लागि मन्त्रालयले आवश्यक पहल थालिसकेको बताए । उनले त्यसैको तयारी स्वरुप नै बिआरटी चलाउन लागिएको जानकारी दिए । मन्त्री ज्वालाले यातायात व्यवस्था विभाग, सडक विभागका पदाधिकारी सम्मलित कार्यदलले अध्ययन गरेर आवश्यक तयारी गरिएको उल्लेख गरे । उनका अनुसार त्यसका लागि ४० सिट ठूला बसको प्रबन्ध गर्न लागिएको छ ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले राज्यको ठूलो लगानी परेको साझा यातायाताको बस तत्काल सञ्चालनको प्रबन्ध गर्नुपर्ने बताए । उनले ट्राफिक प्रहरीलाई उत्साहित गर्ने तवरले केही कार्यक्रम अगाडि बढाउनुपर्ने, उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने बताए । छलफलमा ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका, सडक तथा यातायात क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया