बिहीबार, फागुन ७, २०८२

पक्राउ परेका सांसद शर्माको प्रतिरक्षा उनको पार्टी कांग्रेसले होइन, एमालेले गर्‍यो

मेरोन्यूज २०८० साउन २६ गते १४:५२

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डक्टर पढेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको प्रतिरक्षा उनको पार्टी नेपाली कांग्रेसले होइन, नेकपा एमालेले गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद डा. शर्माको पक्राउको विरोध गरेको हो । सांसद शर्मालाई प्रतिशोध साध्न पक्राउ गरिएको एमाले सांसद ज्वालाकुमारी साहले बताइन् ।

सुन प्रकरणबारे कुरा उठाएका कारण शर्मालाई पक्राउ गरिएको उनको भनाइ थियो । सांसद् साहले भनिन्, ‘सुन प्रकरणका भ्रष्टाचारीका विरुद्ध उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ भनेर पटक–पटक आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबबाट समातिएको छ ? यो कानुनअनुसार मिल्दैन। उहिले नै मिति सकिएको प्रमाणपत्रलाई बखेडा झिकेर समातिएको छ। घोर आपत्ति छ।’

मेडिकल व्यवसायी सांसद शर्माले नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको छ ।

एमालेले सुन तस्करी प्रकरणमा शर्माले संसद्‌मा दिएको अभिव्यक्ति लगायतका विषयमा प्रतिशोध साध्न शर्मालाई पक्राउ गरिएको बताएको छ।

केही दिन अगाडि प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका शर्माले १ क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताएका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेले पनि १ क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको शंकास्पद भूमिका रहेको बताउँदै आएको छ। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसद्‌का दुवै सदनमा अवरोध गर्दै आएको छ।

एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सरकारले भने राज्यका स्थापित निकायबाट नै तस्करीको अनुसन्धान हुने बताउँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो।

प्रतिक्रिया