बिहीबार, फागुन ७, २०८२

संघीय संसद्को अवरोध खोल्न ठोस पहल नै देखिएन

मेरोन्यूज २०८० साउन २६ गते १९:५१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदका दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै एमालेले सदन अवरोध जारी राखे पनि खोल्नका लागि ठोस पहल नै भएको देखिएको छैन ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेको मागलाई लिएर सत्ताघटक दलका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबाहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। तर सदन खुलाउने विषयमा सहमति गर्न सकेका छैन ।

एमाले निरन्तर छानबिन समिति चाहिने भनिरहेको छ, सत्तापक्ष छाननिन समिति बनाउन सहमत छैन ।

अवरुद्ध संसद्बारे राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारबाट चासो राखेका छन् । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग चासो राखे । राष्ट्रपति पौडेलले संघीय संसद् निरन्तर अवरोध भएकोमा चिन्ता जाहेर गरे।

आफ्नो चिन्ता जाहेर गर्दै राष्ट्रपति पौडेलले जनताको आवाज उठाउनुपर्ने संसद् लामो समय अवरोध हुनुले राम्रो सन्देश नजाने भन्दै यसलाई खुलाउन आग्रह गरे।

तर सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगर्दा गाँठो बल्झेको बल्झ्यै छ । न प्रधानमन्त्री चासो दिएर यसलाई खुलाउन लागेका छन्, न विपक्षी केही लचिलो हुन चाहन्छ ।

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई राष्ट्रकै अभिवावक भएकाले सदनको गतिरोध खुलाउन पहल गरिदिन आग्रह नै गरेका थिए । राष्ट्रपति पौडेलले आफूले सक्दो पहल गर्ने वचन दिएका थिए ।

सुन नतस्करी प्रकरणमा प्रमुख सत्तारुढ दल माओवादीका केही नेताहरूको नाम आएको छ । उच्चस्तरीय छानबिन समिति बनाएपछि कतै उनीहरू फस्ने त होइनन् भन्ने डरमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र गृहमन्त्री माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई छ । त्यही भएर उनीहरू उच्चस्तरीय छानबिन समिति गठन हुन नदिन बाहानाबाजी गरिरहेका छन् । एमाले भने समिति चाहिन्छ भन्दै अड्डी कसिरहेको छ ।

शुक्रबारबाट त विपक्षी मात्रै होइन सत्तापक्ष पनि संसद् अवरोध गर्न अघि सरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधप्रति सत्तापक्षका सांसदहरुले विरोध जनाए। बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसद पनि उठे।

प्रतिनिधि सभाको बैठक पनि एमालेकै अवरोधका कारण स्थिगित हुन पुग्यो। सभामुख घिमिरेले शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्ने समय दिए।

साहलाई बोल्न समय दिइएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाए। सत्ता पक्षका सांसदहरु पनि उठेपछि सभामुख घिमिरेले सदनको बैठक आफ्नो तजबिजीमा चल्ने र आफूले प्रतिपक्षी दलका सांसद साहलाई बोल्ने समय दिएको भन्दै सत्ता पक्षका सांसदलाई बस्न आग्रह गरे।

सत्ता पक्षका सांसदको विरोधका बीच एमाले सांसद साहले आफ्नो भनाइलाई निरन्तरता दिइन्। उनले सरकारले आफू बच्नका लागि १ क्विन्टल सुन तस्करीको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन गरेर गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखिन्।

साहले बोलिसकेपछि एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे। एमाले सांसदहरुले करिब ११ मिनेट नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरे।

यता संसद् अवरोध भइरहँदा प्रधानमन्त्री दाहाल भने दुई दिनको कार्यक्रम बनाएर चितवन पुगेका छन् ।

प्रतिक्रिया