बिहीबार, फागुन ७, २०८२

राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल

मेरोन्यूज २०८० साउन २७ गते २१:१६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए । कम्युनिस्ट सिद्धान्तमा वैज्ञानिक समाजवादको मार्गदर्शन रहेकाले वामपन्थी शक्ति संवेदनशील हुनुपर्ने बताउँदै उनले विश्वका धेरै मुलुकमा अहिले कम्युनिस्ट सिद्धान्त लोकप्रिय बन्दै गएकाले समाजवादी व्यवस्था कार्यान्वयनमा सहजता आएको विचार व्यक्त गरे ।

सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उहाँले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।
मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी अर्थ व्यवस्था महत्त्वपूर्ण हुने उनको भनाइ थियो । नेता खनालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताए ।

लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको उनले बताए । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले साना क्षेत्रफलमा रहेका देशका खेलाडीले राखेको विश्व कीर्तिमानले उनीहरूको मुलुकको अस्तित्वमा थप सहयोग पुगेको बताउँदै खेलकुदका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

पार्टी सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै संविधानकाबारे बिमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गरे ।

महासङ्घका अध्यक्ष केशव विष्टले मुलुकमा सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले खेलाडीलाई एकीकृत गरी छिट्टै खेल महोत्सव गर्न लागेको जानकारी दिए । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले मुलुकको आर्थिक विकास तथा समृद्धिका विषयलाई सबै दलले साझा मुद्दा बनाउनुपर्ने बताए ।

प्रतिक्रिया