बिहीबार, फागुन ७, २०८२

संसद्‍को अवरोध खुलाउन कांग्रेसले सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने

मेरोन्यूज २०८० साउन २९ गते १५:०१

काठमाडौँ । १०० किलो सुन तस्करी प्रकरणले लामो समयदेखि अवरुद्ध हुँदै आएका संघीय संसद् अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा खुलाउन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्तारुढ दल र विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलको बैठकले जारी संसद्‍ अवरोध खुलाउन सत्तापक्ष र विपक्षी दलहरुसँग संवाद गर्ने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

लामो समयसम्म संसद्‍ अवरुद्ध हुने कार्यलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै कांग्रेसले एमालेलाई संसद्‍को अवरोध अन्त्य गर्न पनि आह्ववान पनि गरेको छ ।

‘जनताको सरोकारको विषय सदनमा उठ्न सकेको छैन । अर्कोतर्फ महत्त्वपूर्ण विधेयक पारित हुन सकेको छैन । सरकारबाट नयाँ विधेयक प्रस्तुत गर्ने र प्रतिनिधिसभामा विषयगत समितिका सभापतिहरु चयन हुन सकेका छैनन्,’ कांग्रेसले दलको निर्णयमा लेखेको छ, ‘काग्रेसले सत्तारुढ दल तथा विपक्षी दलहरुसँग संवादमार्फत सदन सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ । संसद्‍ निस्क्रिय भएको अवस्थाले संसदीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने जोखिम हुन्छ ।’

कांग्रेसले संसद्‍प्रति सरकार जवाफदेही हुनुपर्ने र संसद्‍ आफैं पनि जनताप्रति जवाफदेही हुनुपर्ने जनाएको छ ।

नेकपा एमालेका सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै केही सातादेखि नियमित रुपमा संसद्‍मा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया