आइतबार, चैत २२, २०८२

चितवनमा एक महिनामा १ सय ८ जनामा डेंगु

मेरोन्यूज २०८० भदौ २ गते १२:५२

चितवन । चितवन जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा डेङ्गुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ सङ्क्रमितमध्ये उनीहरुको मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ र ठेगाना नखुलेका तीन सय २३ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । यस्तै शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्ने केसीले जानकारी दिए ।

यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै भएको उनले बताए । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झूलको प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झूलभित्र सुताउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया