बुधबार, फागुन २७, २०८२

म्याद थप्दा पनि बनेन सिटी हल

मेरोन्यूज २०८० भदौ २६ गते १४:०२

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए। ‘फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ’, उनले भने, ‘भवन निर्माण गर्न आर्थिक अभाव छैन। विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो।’

निर्माण आयोजनाका इन्जिनियर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ। भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ। दुई हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत ८७ करोड ८९ लाख रहेको छ। सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मङ्सिरमा सम्झौता भएको थियो।

सिटी हलमा सानो र ठूलो गरी दुईवटा हल रहने छन्। सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ।

प्रतिक्रिया