आन्दोलनरत शिक्षक र सरकारबीच दोस्रो वार्तामा पनि भएन सहमति
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच गृह मन्त्रालयमा भएको दोस्रो वार्ता पनि विना निष्कर्ष सकिएको छ ।
बिहीबार साँझ ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा करिब दुई घण्टा भएको छलफल विना निष्कर्ष सकिएको हो ।
बैठकमा आज कुनै निष्कर्ष ननिस्किएको र भोलि पुन बसेर टुंग्याइने बैठकपछि सञ्चारकर्मीहरुलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । दुवै पक्ष आ–आफ्ना अडानमा अडिक रहेपछि कुनै सहमति नबनेको हो ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा.प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरू सहभागी थिए ।
शिक्षकहरुको तर्फबाट महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि काठमाडौँमा आन्दोलन गरिरहेका छन् । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले बुधबार र बिहीबार काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् । शिक्षकहरूले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका थिए। सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन गरेका हुन् ।
बिहीबार बिहान पनि शिक्षक र सरकारबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।
शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेको छ । शिक्षकहरुले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया