सुन तस्करी छानबिन जाँचबुझ आयोग गठन
दोस्रो तहमा कुरा नमिलेपछि शीर्ष तहमा कुराकानी हुने
काठमाडौं । सुन तस्करीबारे बन्ने उच्चस्तरीय जाँचबुझ आयोग गठनमा दोस्रो तहका नेताहरूबीच कुरा मिल्न सकेन । आइतबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरूको बैठक बसेर कार्यादेशको मस्यौदा तयार पारेका थिए ।
आइतबार दिउँसो बसेको एमालेसहितको बैठकमा त्यो कार्यादेश पेस भएपछि एमालेले त्यो कार्यादेशमा सहमति नजनाएपछि अब शीर्ष नेताबीच छलफल गरेर टुंग्याउने तयारी भएको हो ।
बैठकमा सहभागी कांग्रेसका एक नेताले भने, ‘हामीले बनाएको कार्यादेशमा एमालेका नेताहरूले चित्त बुझाउनु भएन । अब शीर्ष तहमा बैठक बसेर टुंग्याउने कुरा भएको छ ।
एमाले बाहेकका दलहरूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने गरी अनुसन्धान र अध्ययन अघि बढाउने गरी आइतबार बिहान कार्यादेश तयार पारेका थिए । त्यो कार्यादेशमा चित्त नबुझेपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । स्रोतले ओलीले त्यसमा चित्त नबुझाएपछि शीर्ष तहमै बैठक बस्ने कुरा भएको हो । त्यसपछि आजै साँझ ५ बजे बस्ने भनिएको बैठक पनि बस्न सकेन ।
शीर्ष तहमा बैठक बस्न प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणमा रहेकाले केही ढिलाइ हुने देखिएको छ । छन् ।
सरकार, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत ७ राजनीतिक दलबीच असोज ५ गते सुन काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो।
गत भदौ ६ मा सहमति भएपछि प्रमुख प्रतिपक्षी दल एमाले साउन १० गतेदेखि गर्दै आएको संसद्को अवरोध खुलेको थियो ।
साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्नता देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेर अभियोजन गरेपछि जाँचबुझ समिति बनाउने गरी भदौ ६ गते सहमति भएको थियो ।
प्रतिक्रिया