बुधबार, चैत १८, २०८२

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन

मेरोन्यूज २०८० कार्तिक ६ गते १९:१३

भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

“भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ”, भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भने, “यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।”

इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिएका थिए ।

बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए।

ठूलो पगरी र हँसिलो अनुहारका साथ उनी दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक थिए तर पछिल्ला केही वर्षमा उनको खराब स्वास्थ्यका कारण उनलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो ।

दुई वटा विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उनका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका छन् ।

पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उनको निधनमा दुःख प्रकट गरेका छन्। उनले भनेका छन्, “उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो, उहाँ एक महान स्पिनर हुनुहुन्थ्यो, यो क्रिकेट र विशेषगरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।”

प्रतिक्रिया